सुनसरी । प्रेस युनियन सुनसरीले कोरोना संक्रमण भएका पत्रकारहरुलाई बीमा रकम बापतको १० हजार रुपैँया हस्तान्तरण गरेको छ । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय रहेका कोरोना संक्रमित भएका पत्रकारहरुलाई रकम हस्तान्तरण गरिएको हो ।

यसअघि युनियनले जिल्लाका २ सय ६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरेको थियो । ति मद्ये कोरोना लागेका सुनसरीका २० जना पत्रकारहरुलाई घरमै गएर दश हजार रुपैँया हस्तान्तरण गरिएको हो ।

‘बीमा गरेको रकम भुक्तानी हुनका लागि केही समय लाग्ने भएका कारण हामीले अहिले दुई लाख रुपैँया ऋण काढेर दश–दश हजार रुपैँया हस्तान्तरण गरेका हौँ,’ युनीयनका सभापति पवन अधिकारीले भने, ‘अहिले दशैँको समयमा मिडिया हाउसले पनि तलव दिन नसकिरहेको अवस्थामा तत्कालको खर्चका लागि भनेर सो रकम घरमै गएर सहयोग गरेका हौँ ।’

उनले पछि बीमा बापतको आएको एक लाखबाट दश हजार कटाएर ९० हजार रुपैँया दिने बताउँदै तत्कालको बिषम् परिस्थितिमा उक्त रकमले घरखर्च जोहो हुने हिसाबमा युनियनले रकम दिएको बताए ।

सुनसरीको इटहरी, धरान, दुहवी लगायतका क्षेत्रमा रहेका २० जना पत्रकारहरुलाई दश हजारका दरले दुई लाख रुपैँया दिईएको उहाँको भनाई थियो । अधिकारीले भने, ‘हामीले अहिलेको परिस्थितिमा पत्रकारको घरमै गएर यो रकम दिईएको हो, यतिबेला अफ्ट्यारो परेको समयमा हामीले यो रकम दिदाँ पत्रकारहरुका लागि केही भएपनि रकम खर्च होस् भन्ने उदेश्यले यो रकम दिएका छौँ ।’

कोरोना पीडित धरानका सक्रिय पत्रकार केदार बस्नेतले युनियनले यो समयमा सहयोग गर्नु प्रशंसनीय काम रहेको बताए । उनले भने, ‘समस्याका बाबजुद पनि प्रेस जगतमा काम गर्नेहरुले न्यूनतम पारिश्रमिक समेत नपाईरहेको अवस्थामा पत्रकारको संरक्षणका लागि युनियनले चालेको कदम उदाहरणीय छ ।’ श्रमजीवि पत्रकारहरुले न्यूनतम रकम समेत नपाएको अवस्थामा उक्त रकम दिनु उदाहरणीय काम रहेको उनले बताए ।

दुहवीका पत्रकार आशिष यादवले युनियन सुनसरीले अहिले समस्या भईरहेको समयमा दश हजार रुपैँया दिनु सराहनीय काम रहेको उल्लेख गरे । यादवले भने, ‘अहिलेको कठीन समयमा पाएको यो रकमले ठूलो राहत भएको महसुस भएको छ ।’

यसअघि प्रेस युनियन सुनसरीले पत्रकारहरुका लागि फुड बैँक समेत सञ्चालन गरेको थियो । युनीयन सुनसरी संचारकर्मीका सवालमा हातेमालो गर्दै उदाहरणीय काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen