– होम कुमारी चौधरी
२८, असार रामधुनी । विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्नका लागि नेपाल सरकारले २०७६ चैत्र ११ गते देखि देशभरमा भएको लकडाउनका कारण सुनसरीको रामधुनी नगरपालिकाको विकास निर्माणको काममा पनि असर परेको छ । आर्थिक वर्षको अन्तिम चौमासिकमा गर्ने विकासे कामहरु मूख्य समयमा नै बन्दाबन्दी भएकाले यहाँ संचालित भौतिक निर्माण र विकासका कामसगै सामाजिक विकासका कामहरू समेत प्रभावित भएको छ ।
भौतिक निर्माणका काम गर्दा मजदुर, निर्माण सामग्रीहरू वालुवा, ढुङ्गा, गिटी, रड, सिमेन्ट समयमा नपाउँदा काम गर्न समस्या भएको हो । गाउँटोलमा विकास निर्माणका साना कामहरु सम्पन्न गर्न गठन भएको उपभोक्ता समितिको काम होस की ठूला योजनाहरुको ठेक्कापट्टा नै किन नहोस यातायता र सवारी साधन नचल्दा सबै काम प्रभावित भई विकास निर्माणमा त्यसको प्रत्यक्ष असर परेको हो ।
जोखिमका बीचमा पनि केही काम भएको छ । कोरोना महामारीमा अनेकौ समस्या संग जुध्दै निर्माण कार्य सम्पन्न गरिएको एक उपभोक्ता समितिको अनुभव छ ।
रामधुनी १ क्याम्पस जाने सडक कालोपत्रे निर्माण कार्य हालै सम्पन्न गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष केसिलाल चौधरीले ३० लाख रूपैयाँ बजेटमा निर्माण कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो । गत जेठ ३० गते शुरू गरिएको योजना असार १५ गते सम्ममा सम्पन्न गर्नका लागि मजदुर र निर्माण सामग्री समयमा नपाउँदा वढी दौडधुप गर्नु परेको अध्यक्ष चौधरीको भनाइ छ ।
रामधुनी ५ स्थित सडकको दुवै छेउमा पानी निकासका लागि पक्की नाला निर्माण गर्दा मजदुर र निर्माण सामाग्री खोजेको बेला नपाउँदा समस्या भोग्नु परेको समितिका सचिव प्रेम प्रसाद लम्सालले बताउनुभयो । समितिका सचिव लम्सालले भन्नुभयो, ‘निर्माण कार्य सम्पन्न गर्न २ लाख ४० हजार रूपैयाँ लागेको छ ।’
यसैगरी रामधुनी १ स्थित प्रदेश सरकार र जनसहभागिता गरि कुल जम्मा ३० लाख रूपैयाँ बराबरको रकमबाट ५ सय ४० फिट लम्बाइ बाटोमा ढलान गरिएको छ । समितिका सदस्य सत्कार श्रेष्ठले लकडाउनको बेला निर्माण सामाग्री ल्याउन समस्या भोग्नु परेको जानकारी दिनुभयो । विगतमा जसरी सहज, सरल र सस्तोमा निर्माण सामग्री पाईन्थ्यो त्यसो नभई यसपालीको लकडाउनमा सास्ती, महगों र त्यो पनि समयमा नपाएकाले समस्याका बीचमा आफ्नै काम भनी सम्पन्न गरेको श्रेष्ठको भनाई छ । रामधुनी नगरपालिका कार्यालयले वडा कार्यालयलाई अधिकार सम्पन्न बनाउन वडा तहमा एक करोड ७२ लाख रूपैयाँ वजेटको दरले समान्तर रूपमा विनियोजित गरिएको थियो, सोही अनुसारको विकासका कामहरु धमाधम गर्नुपर्ने बेलामा लकडाउन भएकाले समस्या भएको थियो तर पनि केही खुकुलो भएकाले काम सम्पन्न गर्न तर्फ लागेका छन् ।
सोही नगरको वडा न २ मा भौतिक पूर्वाधार विकास कार्यक्रम तर्फ ४५ वटा योजना रहेकोमा नगरपालिकाको साझेदारीमा विद्युत पोल व्यवस्थापनका लागि ५ लाख रूपैयाँको योजना रहेकोमा चालु आ.ब. २०७६÷०७७ मा सम्पन्न गर्न नसकिएको वडा सचिव ध्रव कोइरालाले जानकारी दिनु भयो ।
त्यसैगरी रामधुनी कै वडानं. ७ मा भौतिक पूर्वाधार विकास निर्माणको सबै कामसम्पन्न गरिएको वडा अध्यक्ष केशव गौतमले जानकारी दिनुभयो । लकडाउन हुनु अगब काम सम्पन्न भैसकेको तथा थोरै रहेको काम असारमा सम्पन्न गर्ने बताउनु्भयो । अध्यक्ष गौतमले कोरोना महामारीमा विकास निर्माणको काम महंगो र जोखिम भएपनि गरिएको तर लक्षित वर्गको कार्यक्रम गर्न नसकिएको बताउनु भयो ।
यस्तै रामधुनी १ का वडा अध्यक्ष महेश चौधरीले भौतिक पूर्वाधार विकासका काम सबै सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले कोरोना कालमा सिलाई कटाईको तालिम सञ्चालन गर्न नसक्दा आगामी बर्षमा सञ्चालनका लागि रकमान्तर गरिएको जानकारी दिनु भयो ।
रामधुनी नगरपालिका कार्यालय योजना शाखाका प्रमुख हर्षलाल चौधरीले आ.व. २०७६÷०७७ मा चालु योजना जम्मा १ हजार ६ सय वटा रहेको जानकारी दिनुभयो । यो योजना वडा न १ देखि ९ वडा सम्मको रहेको योजना शाखाले जनाएको छ ।
रामधुनी नगरपालिकाको वडा न २ र ५ बालमैत्री घोषणा भइसकेको नगरपालिका कार्यालयले जनाएको छ । अन्य वडामा बालमैत्री घोषणका कार्यक्रम अन्तिम चरणमा पुगेको अवस्था कोरोना भाइरसको संक्रमणबाट बच्न कार्यक्रम सम्पन्न गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।
देशमा लकडाउन भए यता सभा, गोष्ठी, तालिम , सेमिनारका कार्यक्रम ठप्प भएको छ भने रामधुनी न.पा. योजना शाखाका प्रमुख हर्षलाल चौधरीले कोरोना कालमा विनियोजित सामाजिक विकासका कामहरू हुन नसकेको जानकारी दिनु भयो ।
रामधुनी नगरपालिका कार्यालयका योजना शाखाका प्रमुख चौधरीले दिएको जानकारी अनुसार आ. व. २०७६÷०७७ मा कुल जम्मा ६७ करोड १६ लाख ८२ हजार प्राप्त हुने संशोधित आय अनुमान पारित गरिएको थियो । यसमा पूँजिगत खर्च ३६ करोड १३ लाख ३६ हजार र चालु खर्च ३१ करोड ४३ लाख ४६ हजार खर्च हुने संसोधितको व्ययको अनुमान गरिएको छ ।
योजना शाखाबाट प्राप्त जानकारी अनुसार चालु आबका लागि संघिय सरकारबाट शर्सत अनुदान रु.१७ करोड, सकपुरक अनुदान रु. ६८ लाख , राजश्व बाडफाड रु. दश करोड ६० दाख र आन्तरीक आयबाट रु. ४ करोड ३५ लाख ९ हजार , जनसहभागिताबाट रु. रु.दुई करोड दस लाख रुपैया रहेको छ । त्यसैगरी प्रदेश सरकारबाट प्राप्त बितिय समानिकरण अनुदानबाट रु. ७६ लाख ६९ हजार, राजश्व बाडफाड रु. ६८ लाख ८२ गरी कुल जम्मा ५० करोड ७३ लाख हुने अनुमान गरीएको थियो । यसमा छैठो नगर सभाबाट संसोघन हुदा संघिय सरकार तराई मधेश कार्यक्रमबाट रु. एक करोड १५ लाख , संघिय सरकार स्वास्थ्य मन्त्रालयबाट रु. दुई करोड ५७ लाख ८१ ह्जार , सडक बोर्ड सुधार गर्न रु.२५ लाख, संघिय सरकारबाट समपुरक अनुदान ६८ लाख रहेको छ । त्यस्तै प्रदेश सरकार पुर्वाधार बिकास कार्यक्रम रु. ७७ लाख ५० हजार, प्रदेश समपुरक एक करोड ५० लाख , प्रदेश बिषेश रु.२५ लाख रहेको छ ।
योजना शाखाबाट प्राप्त प्रतिवेदनमा कोरोना भाइरसको कालमा जेठ मसान्त सम्म महत्वपूर्ण काम हुन नसकेको उल्लेख गरिएको छ । यस अवधिमा पूर्वाधार तर्फ ९५ प्रतिशत कार्य सम्पन्न हुने चरणमा रहेको छ भने अन्य क्षेत्रको ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।
लेखा शाखाकी मनषा चौधरीले असार २४ गते सम्म ४६ करोड ८४ लाख २८ हजार ६सय ९ रुपैयाँ २५ पैसा खर्च भई सकेकोे जानकारी दिनुभयो । यस आ.ब.मा चालु खर्च २६ करोड ५५ लाख २३ हजार ३ सय ८७ रुपैयाँ पाँच पैसा र पूँजिगत खर्च तर्फ २० करोड २९ लाख ५ हजार २ सय २२ रुपैयाँ बीस पैसा रहेको छ ।
त्यसैगरी पुजिगत खर्च तर्फ रु.१५ करोड ४४ लाख ८५ हजार ६३५ रुपैया ६४ पैसा, समपुरक तर्फ रु. २५ लाख ५४ हजार ४२२ रुपैया १२ पैसा, थप रु. एक सरोड ८३ लाख ६४ हजार ८५५, संघिय सरकारबाट रु.९८ लाख ८४ हजार ३८३ रुपैया ९१ पैसा, प्रदेश सरकारबाट रु.एक करोड २४ लाख ५० हजार १९१ र ५१ लाख ५५ हजार ७३४ रुपैया ६३ पैसा खर्च भएको लेखा शाखाले जानकारी दिएको छ ।
विकासनिर्माणमा कोरोना भाइरसको संक्रमणको कारणले पारेको प्रभाब सम्बधित नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरीका अनुसार सतर्कता अपनाई नीति नियम अनुसार काम भैरहेको जानकारी दिनु भयो ।
नगरपालिका कार्यालय प्रमुख प्रशासकिय अधिकृत ओमकार न्यौपानेका अनुसार यस चालु आर्थिक वर्षको सम्पूर्ण विवरण असार मसान्तसम्ममा आउने भएको हुँदा विकास निर्माण कतिखर्च भएको हो प्रष्ट हुन्छ र सो पूर्ण विवरण साउनमा सार्वजनिक गरिने बताउनु भयो ।
(नेपाल पत्रकार महासंघ सुनसरी र रामधुनी नगरपालिकाको सहकार्यमा तयार पारीएको लेखनबृती )
विकासका काम : रामधुनी नगर पालिका वडा नं. १ स्थित क्याम्पस जाने बाटोमा कालो पत्रे निर्माण कार्यको झलक ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen