धरान/कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनुपर्ने अवस्था नरहेको मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेको ठाउँको अवलोकन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारको तयारी राम्रो भएकाले आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् ।
सङ्क्रमितको संख्या बढ्दै गएको भए पनि प्रदेश सरकारले विराटनगरमा १०० शैंयाको आइसोलेसन अस्पताल तयार गरिसकेको उनले बताए । त्यस्तै उनले कोरोना रोकथामका लागि उच्च सतर्कताका साथ प्रदेश सरकारले काम गरिरहेको बताए ।
कोरोना देखिएको ठाउँमा स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको कमी हुन नदिने र आवश्यक खर्च तत्काल प्रदेश सरकारले उपलब्ध गराउने मुख्यमन्त्री राईले बताए ।
उनले राहतका लागि प्रदेश सरकारले रु नौ करोड ५० लाख बजेट विनियोजन गरेको जानकारी दिए । उक्त रकमबाट महानगरपालिकालाई रु २० लाख, उपमहानगरपालिकालाई रु १५ लाख, नगरपालिकाकालाई रु १० लाख र गाउँपालिकालाई रु पाँच लाखका दरले विनियोजन भएको समेत जानकारी दिए ।
प्रदेश नं. १ मा हालसम्म ३० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रदेशमा शनिबारसम्म ५ हजार २१२ जनाको कोभिड–१९ को परीक्षणबाट ३० जना सङ्क्रमित फेला परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Jhumka FM Station ID Tharu Download Listen
Jhumka fm Station ID Nepali Download Listen